राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् ।
माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले तालमेल भएको थियो । सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।बागमती प्रदेशबाट गीता देवकोटा र डा। प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE