गृहमन्त्री अर्याल र चिनियाँ राजदूत माओमिङबिच भेट
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबिच गृह मन्त्रालयमा भेटवार्ता भएको छ। राजदूत माओमिङ कार्यभार सम्हालेपछि गृहमन्त्रीसँग शिष्टाचार भेटका लागि मन्त्रालय पुगेका हुन्।
भेटका क्रममा मन्त्री अर्यालले नयाँ राजदूतलाई कार्यकाल सफलताको शुभकामना दिँदै चीनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका छन्। भेटका अवसरमा गृहमन्त्री अर्यालले नेपाल र चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रविधि र सुरक्षाका नयाँ आयामहरूमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले विशेषगरी टेलिकम क्षेत्रको विकास र बढ्दो चुनौतीका रूपमा रहेको साइबर अपराध ९साइबर क्राइम० नियन्त्रणका लागि बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव अघि सारेका छन्। चीनले प्रविधिमा हासिल गरेको विज्ञता नेपालका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले भविष्यमा यस्तो सहयोग थप विस्तार हुने अपेक्षा समेत गरेका छन्।चिनियाँ राजदूत चाङ माओमिङले नेपालमा भर्खरै सम्पन्न भएको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा टुङ्ग्याउन सफल भएकोमा गृह मन्त्रालय र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन्। मन्त्रालयले निर्वाचन सुरक्षा र सीमा सुरक्षा व्यवस्थापनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै राजदूतले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनको सधैँ दृढ प्रतिबद्धता रहने दोहोर्याएका छन्।
उनले आफ्नो कार्यकालमा दुई देशको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन्। भेटवार्तामा राजदूत माओमिङले मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन कायम राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाएकोमा गृहमन्त्री अर्याललाई बधाई दिएका छन्। दुवै पक्षबीच आगामी दिनमा सीमा प्रशासनलाई अझ प्रभावकारी बनाउने र द्विपक्षीय सुरक्षा चासोका विषयमा निरन्तर संवादमा रहने समझदारी भएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE