आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल

काठमाडौं। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले त्यस क्षेत्रमा धेरै नेपालीहरु समस्यामा रहेको बताएका हुन् । उनले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएकोप्रति असन्तुष्टी जनाउँदै धेरै नेपालीहरु देश फर्किन चाहेको उल्लेख गरे । द्वन्द्व जारी रहेकोले नेपाल फर्किन चाहनेहरुलाई उद्धार गर्न ढिलाई गर्न नहुनेमा उनको जोड छ। हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा असुरक्षित रहेको नाम दर्ता गराइसकेको उनको भनाई छ ।

अवैध रूपमा काम गरिरहेका धेरै नेपालीहरू सरकारी रेकर्डमा नभएकोले यो संख्या अझ बढ्न सक्ने उनले बताए । उनकाअनुसार अवैध रूपमा काम गर्न गएका नेपालीहरू कानूनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिच्किचाइरहेका छन् ।

डा. नेपालले सरकारको प्रयास सकारात्मक भएपनि उद्धार कार्यमा भने प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे । प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपालीहरु र बढी जोखिम क्षेत्रमा रहेकाहरुलाई उद्धार गर्नुपर्नेमा उनले जोड दिए । द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरु परेको उनको भनाइ छ । सम्बन्धित देशहरुले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरेको र बाह्य देशका नागरिकलाई भने सुरक्षामा चासो नदेखाएको पाईएको उनले जानकारी दिए।

उनले भने, ‘मान्छेहरु एकदमै प्यानिक भएर बसेका छन् । त्यो संख्या ठूलो नहोला, तर हामीले कुराकानी गरिरहेका कोही यही बस्छौ भन्ने पनि भेट्यौँ तर धेरै चाहीँ उद्धार गरिदिए हुन्थ्यो भन्नेछन् । झन्डै ७० हजारले पोर्टलमा नाम पनि टिपाइरहनु भएको छ । अर्कोतर्फ सरकारका मन्त्रीज्यु नै बसेर तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेन भनेर बोलियो तर उद्धार गर्नुपर्ने अवस्था छ । ७० हजारको हाराहारीमा त ईनलिष्टेड हुनुभयो । त्यो संख्या माथी जान सक्छ, जो अवैध रुपमा काम गरिरहेका छन्, उनीहरु रेकर्डमा छैनन् । अवैध रुपमा काम गर्न गएकाहरु सूचिकृत हुँदा कानूनी झन्भटमा पर्ने डरले सूचिकृत भएका छैनन्, त्यसकारण उद्धार गर्नुपर्ने संख्या अझ माथी जान सक्छ । सरकारको प्रयास राम्रो हुँदाहुँदै पनि उद्धार गर्न सकिरहेको छैन । अर्को कुरा सरकारले सही सूचना पनि दिन सकेन । सरकारले सुरक्षित रहनुहोला भनेर मात्रै सूचना दिइरहेको छ, त्यतिले मात्रै पुग्दैन ।’

उनले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको बताए । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको उल्लेख गर्दै उनले कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ भन्ने बारेमा भने जानकारी नगराएको बताए । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक दुई,तीन पटक त्यहाँको वस्तुस्थितिको बारेमा सरकारले यर्थात जानकारी दिनुपर्ने उनको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x