प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण र बैठक सञ्चालनको लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार गरेको छ ।
संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो । प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । उनका अनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उनको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ । उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिए।
प्रवक्ता गिरीले हाल तयार गरिएको हलको सेटअप पूर्णरूपमा आपतकालीन प्रकृतिको भएको बताएका छन् । उनले कार्यव्यवस्था महाशाखा बहुउद्देश्यीय हलको पछाडी रहेको सानो कोठाबाट सञ्चालन हुने जानकारी दिए । कार्य परामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ । सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठाहरू व्यवस्थापन गरिएको उनले बताए। साथै हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाउन लागिएको छ । उनले यहाँ व्यवस्थित सेवाहरू उपलब्ध नरहेको स्पष्ट पारे । शपथपछिको अतिरिक्त समयमा हललाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।
स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधि सभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् । संसद सभाकक्षको निर्माण कार्य जारी रहेपनि कहिलेसम्म तयार हुन्छ भन्नेबारे यकिन नभएको प्रवक्ता गिरीले बताएका छन् । प्रतिनिधि सभाको पहिलो अधिवेशन नै बहुउद्देश्यीय हलबाट नै हुने अवस्था रहेको संसद सचिवालयको भनाइ छ । संसदको वेल सानो बनाइएको छ भने रोष्ट्रम, सभामुखको कुर्सी र सचिवालय बस्ने स्थान समेत साना र न्युनतम मापदण्डमा सिमित गरिएको छ । नयाँ संसद नबनेसम्म यसैमा कार्यसम्पादन गर्नुपर्ने बाध्याता रहेको उनले बताए।
संसद सचिवालयले सरकारलाई संसद भवन निर्माण समयमा नै गर्नको लागि पटकपटक ताकेता गरे । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा आगजनी र तोडफोड हुँदा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बैठक सञ्चालनका लागि उपयुक्त छैन ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरी २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो । तर २०८२ फागुनसम्म आईसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिइसकेको छ । संसद भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE