नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सारेका छन् ।
पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताएका हुन् । संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिए । डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गरेका छन् । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ । उनले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव गरेका छन् । आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उनले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पारे ।
नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE