‘देउवा–शेखर समूहको बैठक अनौपचारिक’
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र निकटतम प्रतिद्वन्द्वी डा। शेखर कोइराला समूहले आफूहरूले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक अनौपचारिक रहेको बताएको छ ।
निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले बैठक अनौपचारिक रहेको जानकारी दिए । ‘हामीले आज बोलाएको बैठक औपचारिक होइन अनौपचारिक छलफल र परामर्श हो,’ पाण्डेले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग भने ।
छलफल र परामर्शमा खासगरी निर्वाचनको समीक्षा, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे नेताहरूबिच कुराकानी हुने उनले बताए ।
‘प्रतिनिधि सभा निर्वाचनका क्रममा जिल्ला–जिल्लामा गएका साथीहरू फर्किनुभएको छ । जिल्लामा के के भयो भन्ने बारेमा ब्रिफिङ गर्नुहुनेछ,’ पाण्डेले भने, ‘पार्टीभित्रको आन्तरिक र राष्ट्रिय राजनीतिबारे बैठकमा कुराकानी हुन्छ ।’
पाण्डेले पार्टीको आन्तरिक राजनीतिमा देखिएको जटिलता कसरी चिर्ने भन्ने विषयमा परामर्श गरिने बताए । जनमानसमा देखिएको त्रासदीबारे पनि कुराकानी हुने उनको भनाई छ।
संस्थापनले विधानविपरीतका गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको छ नि भन्ने पत्रकारहरूको प्रश्नमा पाण्डेले पार्टीका अनौपचारिक भेला र बैठक गर्ने प्रचलन पुरानै भएको जिकिर गरे । ‘हाम्रो पार्टीमा अनौपचारिक भेला हुने गर्छन् । यसअघि पनि विभिन्न विचार र छलफल भइरहेका थिए । अहिले पनि गर्नुपर्छ,’ पाण्डेले भने । छलफलबाट पार्टीको शक्ति आर्जनमा मद्दत पुग्ने पाण्डेले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE