सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

महासंघ निर्वाचनको सरगर्मीः अध्यक्ष ढकालको अञ्जन श्रेष्ठलाई चेतावनी- ‘गुटबन्दी भए म पनि मौन बस्दिनँ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीले उचाई लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।

आगामी हप्ता हुने निर्वाचनमा दुई स्पष्ट समूहहरू प्यानलसहित भिड्ने तयारीमा रहेका बेला अध्यक्ष ढकालले भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चेतावनी दिएका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि ‘कन्फर्म’ अध्यक्ष हुन् । तर श्रेष्ठले पर्दापछाडि आफ्नो प्यानल बनाएको र चुनावी अभियानमा सक्रिय भएको आरोप लगाउँदै अध्यक्ष ढकालले यस्तो कार्य विधानको मर्मविपरीत भएको टिप्पणी गरे।

अध्यक्ष ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने कुराको स्मरण गराउँदै नेतृत्वको इमान्दारितामाथि प्रश्न उठाए । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भएपनि त्यसको दुरुपयोग भइरहेको उनको आशय छ । ढकालकाअनुसार अञ्जन श्रेष्ठले निर्वाचनमा एउटा निश्चित समूहलाई च्यापेर पम्पलेट नै छापेर हिँडेका छन् । यसले महासंघभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामाथि ठूलो संशय पैदा गरेको छ । अहिलेसम्म आफूलाई सर्वसम्मतिको पक्षधर र अभिभावकीय भुमिकामा राख्दै आएका ढकालले यदि भावी अध्यक्षले गुटबन्दी नत्यागे आफू पनि चुप लागेर नबस्ने चेतावनी दिए । उनले भावी अध्यक्ष श्रेष्ठलाई एउटा पक्षको नेता नबन्न आग्रह गर्दै यदि त्यसो भएमा आफूले पनि अर्को पक्षको खुलेर समर्थन गर्ने ‘अल्टिमेटम’ दिए ।

महासंघको निर्वाचन अब केवल साधारण सदस्य वा कार्यसमिति सदस्यहरूको मात्र लडाईं नरहेर वर्तमान र भावी अध्यक्षबीचको प्रतिष्ठाको लडाईंसमेत बन्नसक्ने देखिन्छ । अध्यक्ष ढकालले दिएको मन्तव्यले निर्वाचनको अन्तिम घडीमा चुनावी समीकरण बदल्न सक्ने देखिएको छ । अञ्जन श्रेष्ठमाथि गरिएको प्रहारले उनलाई दबाबमा पारेको छ । यदि श्रेष्ठले प्यानल मोह त्यागेर तटस्थता देखाए महासंघमा सहमति हुनसक्छ । अन्यथा अध्यक्ष ढकाल आफैँ अर्को गुटको नेतृत्व गर्दै चुनावी मैदानमा ओर्लिने निश्चित छ । निर्वाचनको मुखमा अध्यक्षले आफ्नै उत्तराधिकारीलाई दिएको यो चेतावनीले महासंघको आगामी नेतृत्व कति चुनौतीपूर्ण र गुटबन्दीपूर्ण हुनेछ भन्ने प्रष्ट पार्छ । अबको एक हप्ता नेपालको निजी क्षेत्रका लागि निकै निर्णायक हुने देखिन्छ । के महासंघले सर्वसम्मत नेतृत्व पाउला वा दुई धारको तिखो भिडन्तमा जाला? यसको उत्तर आगामी निर्वाचनको नतिजाले नै दिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x