आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं। सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् ।
कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।
भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम २०५९ सालदेखि देशभरि नै लागू गरिएको थियो ।यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो । प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE