सरकारलाई हर्कराज राईको आग्रहः संघीयतासम्बन्धि सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धि सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
आईतवार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राईले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । उनले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गरे।
विकास निर्माणको काम अघि बढाउनका लागि कानूनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष राईको बुझाई थियो । उनले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे ।
अध्यक्ष राईले भने,‘हामी संस्कृतिवादी मान्छे । सबै संस्कृतिको हामीले सम्मान गर्छौ । यो हिसावले हामी सबै संस्कृतिको सम्मान गर्छौ । कोही मान्छे अल्पसंख्यक छ । त्यसको संस्कृतिलाई पेल्नुपर्छ, ठेल्नुपर्छ, मास्न पर्छ भन्ने होइन । संघीयता मर्म अनुसारको होस । सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने खालको स्थिति नहोस् भन्न म चाहन्छु । कानूनमा ठूलो फेरबदल हामीले ल्याउनु पर्छ । कस्तो खालको कानून छ भन्दाखेरी मैले हिजो कानूनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानूनमा हामीले परिवर्तन ल्याउन सकेनौ भने काम गर्न सकिँदैन । जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले टयांकी बनाउन खोज्छ, वनले आएर रोकि हाल्छ । यस्तो खालको विरोधाभाष देशमा छ ।’
अध्यक्ष राईले सरकारले श्रमदान गर्नेहरुलाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने पनि बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE