बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ
काठमाडौं । नेपाली बजारमा केराको हाहाकार देखिएको छ ।
खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरुले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको व्यापारीहरुको भनाइ छ । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताएका छन् । नेपालको उत्पादन अत्यन्तै कम छ, अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको उनले बताए । बानियाँले सिमाना र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै यसलाई अझ कडाइका साथ रोक्नुपर्ने बताएका छन् ।
किसानले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बजारमा पठाएको दाबी गर्दै बीचका व्यवसायीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन् । तर बानियाँले यसलाई अस्वीकार गरेका छन् । किसानले उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिनुपर्ने, नत्र बजारमा बेच्न कठिन हुने उनको भनाइ छ । उनले क्रमिक रूपमा आयात नियन्त्रण गर्दै उत्पादन बढाउने नीति लिनुपर्ने सुझाव दिए । राज्यले किसान र व्यवसायीलाई नङ्ग्रा–मासुजस्तो बनाउनुपर्नेमा उल्टै फाटो ल्याएको उनले गुनासो समेत गरे । साथै व्यवसायीका गुनासा सुन्न सरकार उदासीन रहेको भन्दै कृषि मन्त्रीसँग भेटघाटको समय नपाएको उनले गुनासो गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE