एफएनसीसीआईको ६० औँ साधारण सभामा सहभागि गराउन माग गर्दै १८ वटा वस्तुगत संघहरुको प्रदर्शन
काठमाडौं । विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरुले उद्योग वाणिज्य महासंघको आसन्न सधारण सभामा सहभागि गराउन माग गर्दै प्रदर्शन गरेका छन् ।
संस्थाहरुलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरुले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् । यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासंघहरुलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो । वस्तुगत संघहरुले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९ औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् ।
नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले सदस्यता नविकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरु आन्दोलनमा उत्रिएको बताए। एफएनसीसीआईले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरुको सदस्यता नविकरण गरेको त आफूहरुलाई सदस्यता दिन नमानेको आरोप लगाए ।
उनले भने, ‘हाम्रो संस्थालाई हटाउने, सदस्यता नविकरण नगर्ने, एउटै कार्यक्षेमा जुधेका संस्थाहरुलाई चाँही सदस्यता दिने अनि हामीलाई नदिने महासंघको प्रवृत्ति विरुद्ध हामी आन्दोलनमा आएका हौँ । त्यसकारण अन्य सदस्यहरुको सरह हामी पनि कायम रहनुपर्छ भन्ने हाम्रो माग हो ।’
महासंघको ६० औं वार्षिक साधारण सभा यही वैशाख २१ र २२ गते काठमाडौंमा हुँदैछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE