आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन, कुपोषण न्युनिकरण गर्ने लक्ष्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयकाअनुसार वैशाख १५ गतेदेखि देशभरमा ७ सय ५३ वटै स्थानिय तहमा ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो । वैशाख ३० गतेसम्म दुई साता सञ्चालन हुने अभियानमा बालबालिकाको पोषण अवस्था पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । उहाँकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गरी कुपोषण भएका बालबालिकाको उपचार गरिनेछ ।

स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्र, सामुदायिक भवन तथा वडा कार्यालयमार्फत बालबालिकाको पोषण अवस्था सम्बन्धी तथ्यांक संकलन गरिने उनको भनाइ छ । लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाई मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ । यस अभियानबाट प्राप्त हुने तथ्यांकले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ । संकलित तथ्यांकका आधारमा स्थानीय, जिल्ला र प्रदेश तहमा कुपोषणको अवस्था विश्लेषण गरिने र त्यसैअनुसार आगामी कार्यक्रम तथा बजेट निर्धारण गरिने मन्त्रालयको योजना छ । मन्त्रालयले लेखाजोखा पश्चात स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ । अभियानले भविष्यमा कुपोषणका कारण बालबालिकामा देखिने शारीरिक कमजोरी, कम प्रतिरोधात्मक क्षमता र अन्य स्वास्थ्य समस्यालाई न्युनिकरण गर्ने लक्ष्य राखेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।

उहाँले भन्नुभयो, ‘वैशाख १५ गतेदेखि ३० गतेसम्म दुई हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरिरहेको छ । समयमा नै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार भन्ने नाराका साथ अभियान सञ्चालन गर्न लागेको हो । यसको मुख्य उद्देश्य ६ देखि ५९ महिनाका बालबालिकामा पोषणको लेखाजोखा गर्ने हो । कहीँकतै शिघ्र कुपोषण रहेमा त्यसको छिटो पहिचान र उपचार गर्न सकियोस् भन्ने यसको मुख्य उद्देश्य छ । स्थानीय तह, जिल्ला र प्रदेशमा कुपोषणको स्थिति के छ रु भन्नेकुरा पहिचान होस् र भवियष्का कार्यक्रम बनाउँदा त्यसैमा आधारित भएर बनाउन सकियोस् भन्ने हो । ७ सय ५३ वटै स्थानिय तहमा लेखाजोखा अभियान सञ्चालन हुँदैछ । स्वास्थ्यसंस्था, स्वास्थ्यकेन्द्र, सामुदायिक भवन, वडा कार्यलयमार्फत लेखाजोखा गर्दैछौँ । लेखाजोखा प्राप्त भईसकेपछि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत थप जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नेछौँ । साथै नयाँ के के कार्यक्रम सञ्चालन गनुपर्ने, बजेट कति छुट्याउनुपर्ने भन्ने कुराको पनि पहिचान हुनेछ । भोलीका पुस्ता पोषण नपुगेको कारणले कमजोर भएको, प्रतिरोधात्मक क्षमता कम भएको, आँखा कमजोर भएको, शरिरका अंगप्रत्यांग कमजोर भएको भन्ने स्थिति नहोस् । भोलीको पुस्ता देशको लागी सक्षम, कर्मशील र बलियो पुस्ता तयार गर्ने लक्ष्य हो । यही अनुसार राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्देछौँ, यसमा हरेक अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिकले यसको संवेदनशीलतालाई बुझेर हरेक स्थानिय तहमा संचालित अभियानमा तथ्य रुपमा जानकारी दिन र सहयोग गर्न मन्त्रालय अनुरोध गर्दछ ।’

मन्त्रालयले अभियानको संवेदनशीलता बुझेर अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा नागरिकलाई सही तथ्यांक उपलब्ध गराउन र सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x