कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड, महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न का.मु.प्रधानन्यायाधीश मल्लको आग्रह
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताएका छन् । कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड दिएका हुन् । तत्कालीन समयमा राज्यशक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा उक्त ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमै अगाडि बढाएको उनको भनाइ छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका संविधानको भावना र सरकारको गतिसँगै अघि बढ्न तयार रहेको बताइन् । केही समयअघि सभामुखले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उनले न्यायपालिकाको कार्यक्षमता स्रोत र साधनको उपलब्धतामा निर्भर रहने उल्लेख गरिन् । उनले न्यायपालिका हाल पुनरुत्थान र सुधारको एजेण्डासहित अघि बढिरहेको जानकारी दिइन् ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिइन्् । उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरिन् । उ्न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउदै उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिवद्धता सबै सरोकारवालाले देखाउनुपर्ने बताइन् ।
कायममुकायम प्रधानन्यायाधीश मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताइन् । न्यायलाई स्वार्थको मुकुण्डो बनाउने र विधिको शासनमा छेडखानी गर्ने प्रवृत्तिले लोकतन्त्रलाई धरापमा पार्ने उनको चेतावनी छ ।यस्तै कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले न्यायपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन फैसला कार्यान्वयन र बढ्दो मुद्दाको कार्यचाप व्यवस्थापन नै वर्तमान समयको मुख्य चुनौती रहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE