आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

  काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि थुप्रिएका मुद्दालाई साढे १८ महिना भित्र फर्स्योट गर्ने लक्ष्यसहितको महत्त्वाकाङ्क्षी कार्ययोजना सार्वजनिक गरेका छन् । मङ्गलबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणापत्र र कार्ययोजना पेस गर्दै डा. शर्माले न्यायपालिकाको सुधारका लागि प्रविधिमैत्री न्याय प्रणाली र भ्रष्टाचारमुक्त प्रशासनमा जोड दिएका हुन् ।

उनले पेस गरेको कार्ययोजनामा ‘डिफरेन्सियल केस म्यानेजमेन्ट’ (डीसीएम) पद्धतिलाई प्रभावकारी रूपमा लागू गरी मुद्दाको प्रकृति अनुसार बढीमा १८ महिनाभित्र किनारा लगाउने प्रतिबद्धता जनाएका हुन् । न्याय सम्पादनमा ढिलासुस्ती हुँदा जनआस्थामा ह्रास आएको स्वीकार गर्दै उनले अबका दिनमा छिटो, छरितो र अनुमानयोग्य न्याय प्रणाली स्थापित गर्ने दाबी गरेका छन्।

डा. शर्माले न्यायालयलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना अघि सारेका छन् । उनले अदालतमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोगका सम्भाव्यता अध्ययन गर्ने, ‘भर्चुअल’ माध्यमबाट बहस र बयान लिने तथा मुद्दाको मिसिललाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने योजना अघि सारेका छन् । अदालतमा हुने बहसको प्रत्यक्ष प्रसारणसँगै अडियोलाई टेक्स्टमा रूपान्तरण गर्ने प्रविधिको सुरुवात गर्ने समेत उनको कार्ययोजनामा उल्लेख छ ।अदालतमा हुने भ्रष्टाचार र विचौलियाको चलखेल रोक्न उनले ‘शून्य सहनशीलता’ को नीति अख्तियार गर्ने बताएका छन् । न्याय परिषद् र सर्वोच्च अदालतको अनुगमन संयन्त्रलाई सक्रिय बनाउँदै आचारसंहिता उल्लङ्घन गर्ने न्यायाधीश र कर्मचारीमाथि कडा कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । “न्यायालय प्रतिको जनआस्था बढाउन बिचौलियाको प्रभावलाई अन्त्य गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ,” उनले भने ।

न्यायमा पहुँच नभएका विपन्न र असहाय वर्गका लागि निःशुल्क कानुनी सेवालाई प्रोत्साहन गर्ने र सो सेवा उपलब्ध गराउने कानुन व्यवसायीको अभिलेख अद्यावधिक गर्ने योजना पनि डा. शर्माले अघि सारेका छन् । त्यस्तै, मेलमिलाप पद्धतिलाई थप प्रभावकारी बनाउँदै मुद्दाको भार कम गर्ने र साना प्रकृतिका विवादलाई समुदाय स्तरमै समाधान गर्न प्रोत्साहन गर्ने उनको अवधारणा छ ।

उनले सर्वोच्च अदालतका न्यायाधीश संविधान र कानुन बमोजिम न्यायिक कार्यमा मात्र संलग्न हुनुपर्ने र प्रशासनिक तथा व्यवस्थापकीय कार्यका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने धारणा समेत राखेका छन् । डा. शर्माले आफ्नो कार्ययोजनाको प्रगति विवरण प्रत्येक चार महिनामा सार्वजनिक गर्ने र संसद् तथा सरकारसँगको समन्वयमा न्यायपालिकाको बजेट र जनशक्ति व्यवस्थापन गर्ने अवधारणा अगाडि सारेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x