बीमा दाबी प्रक्रिया र नियमनकारी क्षमतामाथि सांसद राणाको प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रमा देखिएका विविध समस्या र नियामक निकायको क्षमतामाथि प्रश्न उठाएकी छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मङ्गलवार सम्पन्न बैठकमा बोल्दै सांसद राणाले बीमा शुल्क (प्रिमियम) बुझाउन सहज भएपनि बीमा दाबी भुक्तानी पाउने प्रक्रिया अत्यन्तै कष्टकर रहेको भन्दै नागरिकको गुनासो बढेको उल्लेख गरेकी हुन् । उनले बीमाप्रति जनविश्वास अभिवृद्धि गर्न नेपाल बीमा प्राधिकरणले अघि सारेका ठोस योजना र सुधारका प्रयासबारे जिज्ञासा राखिन् । सांसद राणाले बिमितले आफ्नो दाबी कुन चरणमा पुगेको छ, किन रोकिएको छ र कहिले भुक्तानी हुन्छ भन्ने जानकारी सहजै पाउने गरी ‘डिजिटल क्लेम ट्र्याकिङ सिस्टम’ लागू गर्नुपर्नेमा जोड दिइन् ।
सांसद पुष्पराज कँडेलले नेपालको बीमा क्षेत्रमा विद्यमान विभिन्न समस्याहरूका बारेमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले बीमा उद्योगको वर्तमान अवस्था, पारदर्शिता, कानूनी जटिलता र कोभिड बीमाको भुक्तानीका विषयमा प्रश्न उठाए । बैठकमा सांसद कँडेलले नेपालमा सञ्चालित ३७ वटा बीमा संवद्ध संस्थाहरूको वित्तीय अवस्था सार्वजनिक गर्न माग गरे ।
बीमा क्षेत्रलाई पूर्ण रूपमा डिजिटलाइजेशन गर्ने योजनाको सन्दर्भमा सांसद कँडेलले नेपालको डिजिटल साक्षरता र ग्रामीण पहुँचको यथार्थलाई ध्यान दिनुपर्ने सुझाव दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE