काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।
शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । यसअघि भाद्र ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको थियो । समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताए ।
सरकारले रासायनिक मलको आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको प्रवक्ता अर्यालले जनकारी दिए । ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलले गठन भएको ६० दिनभित्र अध्ययन सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्नुपर्ने उनको भनाइ छ
यस्तै सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ । स्थानीय सीप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनःस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको उनको भनाइ छ ।
