३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यकः संयोजक दाहाल

0
Shares


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयो । दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे । विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न उहाँले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान गरे ।

संयोजक दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताए। राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गर्नुभएको हो । संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता व्यक्त गरे । मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको उनको भनाइ छ । देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उनले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताए ।

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाए । मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको उनको टिप्पणी छ । ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको तर्क छ ।

संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औँल्याए । मुलुकको विद्यमान समस्या समाधानका लागि सदनका साथै सडकबाट समेत जनदबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।