काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन् ।
आईतवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् । सिंहले मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउण्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताए । नेता सिंहले छठ पर्वको पारणका दिन जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गर्ने र त्यसपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा शुरु गर्ने घोषणा गरे । उनकाअनुसार उक्त यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ । पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु र उनीहरूका समस्या सुन्नु रहेको उनको भनाइ छ।
पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे जनतासँग छलफल गर्ने सिंहले बताए । सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या पनि यात्राका क्रममा उठाउने उनको भनाइ छ । यस्तै उनले मधेसको विकासका लागि आफूले ‘६ स’ अर्थात शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, शान्ति’सुरक्षा र सरसफाईलाई प्राथमिकतामा राखेको बताए । मधेसमा सरसफाइको अवस्था सुधार गर्नुपर्ने भन्दै उनले सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने, सडकमा दाउरा तथा गोबर राख्ने र घरअगाडि नै पशु बाँध्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए । सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आधारमा मधेशको महत्वपूर्ण भुमिका रहेको दाबी गर्दै मधेसले पार्टीलाई दिएको समर्थनअनुसार विकास र राजनीतिक सहभागितामा पनि प्राथमिकता पाउनुपर्ने बताए । मधेशबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने र मधेशको विकासमा त्यसअनुसार ध्यान दिनुपर्ने यनकाृ भनाइ छ ।
