देशभर बाढीको वितण्डा, विभिन्न जिल्लामा ११ जनाको ज्यान गयो

काठमाडौं । अघिल्लो दिनदेखिको निरन्तरको अविरल वर्षाले देशमा ठूलो धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको हो ।
पहिरोको कारण काभ्रेमा तीन, सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २–२ र ललितपुर र झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले देशभर नै लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिँदा पहिरो र बाढीको जोखिम कायमै रहेको छ। दिनभर जसो वर्षा जारी रहने अनुमान छ ।
सुदूरपश्चिम र कणाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिइन् । उनका अनुसार लुम्बिनी प्रदेशका केही स्थानको मौसम भने दिउँसो खुल्ने सम्भावना छ ।
देशभरका अधिकांश भूभागमा बिहीबार रातिदेखि नै निरन्तर पानी परिरहेको छ। लगातारको वर्षाका कारण सबैजसो नदी खोलामा बाढी आएको छ । काठमाडौं उपत्यका लगायतका तराईका भूभाग जलमग्न भएका छन् । लगातार परेको पानीले हिँडडुल गर्न पनि समस्या भएको छ । गएराति चितवनमा सबैभन्दा धेरै २०४ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंका अधिकांश नदी र खोलाहरुको जलसतह खतराको सतहमा छ ।
काठमाडौंमा शनिबार अपराह्न ५ बजेदेखि मौसममा क्रमिक सुधार हुने र आइतबार मध्याह्नदेखि भने देशभरको मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE