बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दशैंको औपचारिक सुरुवात, हनुमानढोकामा राखियो जमरा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ ।

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाईं गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ ।

बिहीवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । सो अवसरमा गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आएको र सबैको घरहरुमा जमरा आज राखिएको बताए । उनले हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने प्रचलनअनुसार पूजा गरी जमरा राखिएको बताए ।

उनले भने, ‘घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आइएको छ । सबै घरहरुमा जमरा राख्ने गरिुन्छ । हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने गरेका छौँ ।’

त्यस्तै पण्डित सुवास कोईरालाले आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुने र आज दैत्यमाथि देवीले विजयी पाएको अवसरमा दशैँको पहिलो दिन जमरा राखिएको बताए । उनले देवीको प्रिय वस्तु जौ भएकाले जौको जमरा राखिएको बताए । उनले जौको मात्रै जमरा राख्नुपर्ने भएपनि जौ, गहुँ, धान, मकै पनि छर्ने गरिएको बताए ।

उनले भने, ‘आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुन्छ । दैत्यमाथि देवीले विजयी पाएको दिनमा आजबाट नवदुर्गाको पूजा गरिन्छ । देवीको प्रिय वस्तु भनेको जौ हो, जौलाई उमार्छौँ । पूजा गर्छौं । जौ, गहुँ, धान, मकै पनि छर्ने चलन छ ।’

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x