आसाका किरण छर्दै ‘नव किरण प्लस’ पुनर्जिवित

काठमाडौं । एचआईभी एड्स प्रभावितहरुको पुनर्स्थापना गर्दै उनीहरुलाई समाजमा सम्मानित जीवनयापनको वातावरण बनाउने २०६० सालमा स्थापना भएको ‘नव किरण प्लस’नामक गैरसरकार संस्था पुनर्जिवित भएको छ । संस्थाका संस्थापक केही व्यक्तिहरुको निश्क्रियतासँगै ठप्प भएको यस संस्थामा युवा जमातहरुको नयाँ कार्यसमिति चयन भएसँगै संस्था पनि चलायमान बनाउन थालिएको हो ।
संस्था स्थापना भएसँगै देशका ७७ वटै जिल्लामा यसले उल्लेख्य कार्यहरु गरेको थियो । ९ वटा सामुदायिक केयर सेन्टर सञ्चालन गरी एचआईभी संक्रमित व्यक्तिहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा, परामर्श, र मनोवैज्ञानिक शक्ति प्रदान गरी समुदायमा सम्मानि जीवन बाँच्ने सक्ने अवस्था निर्माण गरिरहेको यो संस्थामा हालै सुरेन्द शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यो कार्यसमितिको चयन भएसँगै संस्था रहेको स्थान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । संस्थालाई पुनः सक्रिय गराउने क्रममा सञ्चारकमी तथा कलाकर्मी तुलसी बाँस्कोटालाई एक विद्युतिय ह्विलचियरसमेत हस्तान्तरण गरिएको छ ।
बुधबार संस्थाकै भवनमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामा प्रमुख अतिथिका रुपमा रहेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेन्द्र शाहले गरेका थिए । कार्यक्रमको विशेष अतिथिका रुपमा नेपाली कांग्रेसका युवा नेता नारायण हमाल र वडा सदस्य बुद्धि लामा तथा अन्य स्थानीय प्रतिनिधिका साथै संस्थाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष लामाले संस्थाले आफ्नो उद्धेश्य अनुसारको काम गर्दै गए स्थानीय सरकारको तर्फबाट वडाले सँधै साथ र सहयोग गर्न तयार रहेको जानकारी दिए । संस्था पुनःसक्रिय भएको पाउँदा आफूलाई खुसी लागेको बताउँदै वडाध्यक्ष लामाले उक्त संस्थाको स्थापनाले स्थानीय ठाउँकाखे मुहार फेरेको बताए । देशभरका दुखी पीडित र सहयोगको आवश्यकता भएका मानिसहरुलाई संस्थाले सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताउँदै उनले संस्थालाई शुभकामना दिए ।
कार्यक्रममा यस संस्थाले समुदायमा एचआईभी संक्रमणको रोकथामका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्दै सुरक्षित अभ्यासहरूको प्रवर्द्धन गर्ने जानकारी गराइएको थियो । एचआईभी एड्स प्रभावित बालबालिकाहरू तथा महिलाहरूलाई शिक्षामा पहुँच पुर्याउने र आत्मनिर्भर बनाउन विभिन्न तालिम र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले आगामी दिनमा सहयोगको दायरालाई अझ वृहत र फराकिलो बनाउने जानकारी गराइयो ।
एचआईभी संक्रमित व्यक्तिहरूलाई रोजगार र अन्य सामाजिक क्रियाकलापमा जोडेर समाजमा पुनःस्थापना गराउँदै आएको संस्थाले उनीहरूको आत्मसम्मान र जीवनस्तर सुधार्न मद्दत गर्दै आएको र यसको निरन्तरतामा अझ सक्रियता बढाउने जानकारी गराइयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE