टेलिचलचित्र ‘माइतीघर’को पाँचौं भाग प्रसारित (भिडियो सहित)

काठमाडौं । नेपाली धारावाहिक टेलिचलचित्र ‘माइतीघर’को पाँचौं भाग प्रसारण गरिएको छ । मणिलिङ्गेश्वर फिल्मस् हाउस प्रा.लि.को ब्यानरमा निर्माण भएको यो टेलिचलचिको पाँचौं भाग शुक्रबार साँझ साढे ७ बजे बागमती टेलिभिजन एचडी र ८ बजे माइतीघर युट्युब च्यानल तथा बागमती टेलिभिजनकै फेसबुक पेजमार्फत सार्वजनिक भएको हो ।
१० भागसम्म छायाँकन सकेर प्रसारण थालेको यो टेलिचलचित्र धारावाहिक रुपमा निरन्तर निर्माण गर्ने लक्ष्य रहेको निर्माता तथा अभिनेता नवराज अधिकारीले जानकारी दिए । बागमती टेलिभिजन डटकमसँगको कुराकानीमा निर्माता अधिकारीले आफूहरुले यो टेलिचलचित्र धेरै अध्ययन गरेर दर्शकहरुको चाहना बुझेर निर्माण गरिएको बताए ।
छायाँकन भइसकेको १० भाग प्रसारणमा आम दर्शकहरुको प्रतिक्रिया तथा सल्लाह र सुझाव जस्तो आउँछ, त्यही सुझावको आधारमा त्यसपछिका श्रृंखला निर्माण गरिने अर्का निर्माता तथा अभिनेता इश्वरी प्रसाद अधिकारीले बताए । हाल आगामी श्रृंखलाको लेखन कार्य भने धमाधम भइरहेको उनको भनाइ रहेको छ ।
टेलिचलचित्रमा बिवाह गरेर कर्मघरमा गएकी चेलीले भोग्न वाध्य हुने यातनाको कथा समेटिएको छ । समयसँगै अब महिला कसैको दास बन्न हुन्न भन्ने सचेतनामूलक विषयवस्तु पनि यसमा समेटिँदै जाने निर्माता मध्येका एक नवराज अधिकारीले बताए । उनका अनुसार टेलिचलचित्रमा नारी समवेदनामात्र नभइ समसामयिक विषयवस्तु पनि समेटिनेछ ।
यस टेलिचलचित्रमा सपना श्रेष्ठ, शितल केसी, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत, नित्याशिवाको स्वर तथा अर्जुन थापाको सम्पादन रहेको छ । टेलिचलचित्रको १० भागसम्मको लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE