अर्थतन्त्रको स्लो डाउन कम हुनासाथ बैंकहरुको रिकभरीमा सुधार आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनाको लागि राष्ट्र बैंकले कानून निर्माण गरिरहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बैंकिङ क्षेत्रका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले बैंकहरुमा देखिएको रिकभरीको समस्या समाधानको लागि पनि एसेट्स म्यानेजमेण्ट कम्पनी आवश्यक भएको भन्दै त्यसको लागि कानून आवश्यक रहेको बताए । उनले बैंकको रिकभरी पनि अर्थतन्त्र स्लो डाउनसँग जोडिएको बताए । उनले एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनासँगै बैंकहरुलाई खराब कर्जा व्यवस्थापनमा सहजता आउने उल्लेख गरे । उनले पछिल्लो समय बैंकहरु रिकभरीमा देखिएको समस्या अर्थतन्त्रको स्लो डाउन कम हुनासाथ रिकभरीमा सुुधार हुने अपेक्षा रहेको बताए ।
उनले बैंकहरुको एनपी लेभल सँधै माथि नजाने भन्दै क्रमशः सुधार हुँदै जाने धारणा राखे । उनले बैंकिङ क्षेत्र रिकभरी भएसँगै बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । उनले राष्ट्र बैंकको नियमन र नीतिको कारण बैंकहरुलाई सानोतिनो धक्काले नछुने अवस्था रहेको बताए । उनले नेपालको बैंकिङ क्षेत्र बलियो रहेको भन्दै ग्राहकलाई बैंक प्रतिको विश्वास बढाउनको लागि बैंकहरुले काउन्सेलिङ,सहुलियत दिने काम गर्न आवश्यक रहेको बताए । प्राविधिक रुपमा उद्योगी व्यवसायीहरुबाट कमजोरी हुने बित्तिकै बैंकहरुले कालोसूचिमा राख्न नहुने बताए ।
उनले बैंकहरुको पनि ग्राहक वा उद्योगी बचाउनुपर्ने दायित्व रहेको बताए । उनले बैंकहरुले आफ्नो काम कर्जा दिने मात्रै भनेर बुझ्न नहुने बताए । उनले पछिल्लो मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको उल्लेख गरे ।
उनले भने,‘ विदेशी मुद्रा सञ्चिति र बैंकहरुमा तरलता कम हुँदै जाने अवस्था देखिएको छ । बैंकिङ क्षेत्रमा परेको रिकोभरीको मुख्य समस्या मौद्रिक नीतिमा नै एमसिको लागि कानून बनाउने भनेका छौं । कानून बनाउने काम भइरहेको छ । त्यसपछि खराब कर्जालाई अर्को पकेटमा लैजान सजिलो हुन्छ । पूर्णरुपमा रिकभरी सम्भव छैन । एसोएस म्यानेजम्याण्ट कम्पनीका लागि कानून निर्माण बनाउँदैछौं । रिकोभरीको समस्या स्लो डाउन अर्थतन्त्रसँग गासिएको छ । यो सुधार हुँदै जाँदा बैंकको रिकोभरी पनि सुधार हुँदै जाने छ । बैंकहरुको एनपी लेभल सधैँ माथि जान्छ भन्ने होइन । क्रमशः सुधार हुन्छ भन्ने आशा छ । सुधार हुँदा बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्नेछ । बैंकिङ उद्योगमा परेको जुन दबाब हो । त्यसलाई व्यवस्थापन गरेर कन्सलटेसन वा विभिन्न इस्टुमेण्ट प्रयोग गरेर बैंकहरुलाई राष्ट्र बैंकले स्टेवल बनाएका छौं । बैंकहरुलाई सानोतिनो धक्काले नछुने बनाएका छौं । त्यसलाई लिएर अघि बढ्नुपर्छ । नेपालको बैंकिङ क्षेत्र बलियो भएकाले राम्रो मान्नुपर्छ । यो बेलामा बैंकहरुले काउन्सेलिङ,सहुलियत दिने र बैकले के गर्दा ग्राहकहरुलाई सहयोग पुग्छ । त्यो बैंकहरुले गर्नुपर्छ । प्राविधिक रुपमा भएको कमजोरी हुँदा बैंकहरुले कालोसूचीमा राख्न हुँदैन । बैंकहरुले आफ्नो काम कर्जा दिने मात्रै हो । व्यवसायीहरुलाई परेको अफ्ठ्यारो बुझ्न सक्दैनौं भन्न मिल्दैन । बैंकहरुले ऋणलाई काउन्सिल गर्दा बाच्नसक्छ । व्यवसायीको कारोबार बच्नसक्छ । पछिल्लो दुई महिना मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको छ । एभरेज भन्दा निकै माथि छ । विगत दुई वर्षको एभरेज आयात १ सय ३० अर्ब प्रतिमहिना हो भने अहिले पुस महिनामा मात्रै १ सय ६१ अर्ब आएको छ । यसभित्र केही न केही गतिविधिहरु बढ्न खाजेको छ । निर्यात भित्र पनि क्यापिटल गुड्सहरु आइरहेको छ भने भोलिलाई फिक्स क्यापिटल फरमेसनमा सहयोग पु¥याउँछ । दीर्घकालिन रुपमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ । केही मात्रामा त्यस्ता खालका वस्तुहरु निर्यात भएको देखिन्छ । पाम आयलले निर्यातमा वृद्धि भएकाले पनि निर्यात वृद्धि भएको देखिन्छ । बिस्तारै अर्थतन्त्रमा देखिएको स्लो डाउन कम हुँदै जाने आशा गर्नसक्छौं । निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले हदैसम्म गरेको हो । त्यसले केही राहत निर्माण व्यवसायीहरुलाई भयो तर पनि भुक्तानीको विषय अहिले पनि भइरहेको छ । सरकारको खर्च गर्ने संयन्त्रमा जुन खालको कमजोरी छ त्यो अहिलेसम्म पनि कायम छ । आर्थिक वर्षको अन्तिममा खर्च हुने प्रवृत्ति अहिले पनि छ । त्यसलाई हामीले बढाउन आवश्यक छ ।’
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले गत वर्षको तुलनामा बैंकिङ उद्योग सुरक्षित रहेको उल्लेख गरे ।उनले बैंकिङ क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर ५ प्रतिशत देखिएको बताए । उनले अहिले बैंकहरुको सिडी रेसिया ७९ प्रतिशतमा रहेको बताए । उनले समग्रमा हेर्दा बैकिङ उद्योग सुरक्षित रहेको देखिएको बताए । उनले बैंकिङ क्षेत्र सुरक्षित देखिए पनि बैंकहरुमा खराब कर्जा ४.५ प्रतिशत रहेको बताए । उनले केही बैंकहरुको ५ प्रतिशत भन्दा माथि पुगेपनि चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । अध्यक्ष कोईरालाले निष्क्रिय कर्जा व्यवस्थापनको लागि बैंकहरुले सम्भावित कर्जा नोक्शानीबापत प्रोभिजन गर्ने क्षमता भएसम्म बैंकिङ उद्योग बलियो हुने बताए ।
उनले दक्षिण एशियाका मुलुकहरुसँगको तुलना गर्दा पनि नेपालको बैंकिङ क्षेत्रको अवस्था राम्रो रहेको बताए । उनले राष्ट्र बैंकले ल्याएको नीतिका कारण बैंकहरु सबल रुपमा रहेको धारणा राखे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE