हामीले विकास बजेट पार्न प्रयास गरे पनि सरकार परिवर्तन भइ रहँदा समस्या आयोः प्रमुख सचेतक न्यौपाने

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभाको प्रमुख सचेतक भगवती न्यौपानेले विकासको निम्ति बजेट पार्नमा आफुहरुको ध्यान रहेको तर सरकार परिवर्तन भइरहने हुनाले व्यवस्थित तरिकाले विकासका काम हुन नसकिरहेको गुनासो गरेकी छिन् । तनहुँ पर्यटन प्रबद्र्धन समाजको दशौं वार्षिक साधारण सभामा विकास निर्माणका काममा जनप्रतिनिधिहरुको भुमिका के कस्तो छ भनेर उनीहरुले बुझ्न जरुरी रहेको उनले बताएकी हुन् ।
निजि क्षेत्रको लगानी तथा योगदान बिना देशको समृद्धि कल्पना नै गर्न नसकिने उनको दाबी छ । उनले बन्दिपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले तनहुँमा ३ रात ४ दिनको ट्रेकिङ पदयात्रा रुट बनाएर पर्यटन विकासमा जोड दिन सकिने बताए । उनले संघीय सरकारको पर्यटन मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्न काम नगरेको बताए । मगरले तनहुँमा छिम्केश्वरी मन्दिर, एसियाकै दोस्रो ठूलो सिद्ध गुफा, पहाडकी रानी बन्दिपुर लगायतका महत्वपूर्ण स्थानहरुको अवलोकन गर्न आवश्यक रहेको पनि बताए ।
तनहुँ पर्यटन प्रबद्र्धन समाजको दशौं वार्षिक साधारण सभाबाट रुद्रसिंह ठकुरी अध्यक्षमा निर्वाचित भएका छन् । ठकुरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । उपाध्यक्षमा हरि लामिछाने, महासचिवमा केशवलाल श्रेष्ठ, सचिवमा प्रेमनाथ तिमल्सिना, कोषाध्यक्ष प्रतिक जोशी, सहकोषाध्यक्ष हिउँवाला प्रधान र सदस्यहरुमा राम थापा मगर, सुसिल थापा, मिन थापा मगर, सुजाता श्रेष्ठ र निवर्तमान अध्यक्षमा शुक्र कुमार चयन भएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE