सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्नसक्छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए । उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा—वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले भने, ‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्याउन सकियोस् । पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनउने काम गरौँ । पालिका उठाऔँ । त्यहाँका स्कुल, क्याम्पस, युवा क्लव, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरुलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ । यो प्रहरीको मात्रै विषय होइन । लागुऔषधको प्रभावमा युवालाई पर्न नदिने कुरा अभिभावक र परिवारबाट शुरु हुन्छ । लागुऔषध दुव्र्यसनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने अपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाईका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रुपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिवद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा केके गर्नुपर्छ म तयार छु । यसका बिरुद्धको लडाईंमा विजय प्राप्त गर्छौं । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रुपमा हामी स्थापित गर्नसक्छौँ ।’
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताए । अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्याउन जरुरी रहेको बताए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE