३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै, कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने

0
Shares


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्न लागेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जान लागेकाा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

उनी आज बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली साढे ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुने दीक्षान्त समारोह उपसमितिले जनाएको छ ।

दीक्षान्त समारोहपछि दिउँसो करिव साढे दुई बजे प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।

प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्ने र त्यस लगत्तै काठमाडौं फर्किने जनाइएको छ ।