डी.बी. गुरुङले बागमती टेलिभिजनमा साँगीतिक कार्यक्रम ‘सुरशाला’ ल्याउने

काठमाडौं । पछिल्लो समय लगातार स्तरीय कार्यक्रमहरु उत्पादन र प्रसारण गरिरहेको बागमती टेलिभिजन एचडीले ‘सुरशाला’ नामक अर्को नयाँ सांगीतिक कार्यक्रम ल्याउने भएको छ । कार्यक्रमको सञ्चालन चर्चित गायक तथा संगीतकार डी.बी. गुरुङले गर्ने भएका छन् ।
उक्त कार्यक्रममा सबै विधाका गीत–संगीतकर्मीहरुसँगको भलाकुसारीका साथै सबै विधाका गीतहरु प्रसारण गरिने भएको छ । कार्यक्रम प्रस्तोता गुरुङले लोकदेखि आधुनिकसम्म र पपदेखि र्यापसम्मका गीतहरु प्रसारण गर्ने जानकारी दिए । यी विधामा सक्रिय सर्जक तथा प्रस्तोताका छायाँमा परेका पक्षहरुलाई रोचक तरिकाले प्रस्तुत गरी उनीहरुसँग सम्बन्धित गीत–संगीतको प्रसारण हुने उनको भनाइ रहेको छ ।
प्रस्तोता गुरुङले कार्यक्रमको प्रसारण यही चैत १४ गतेदेखि हरेक बिहीबार साँझ साढे ७ बजे प्रसारण हुने जानकारी दिएका छन् ।
बागमती टेलिभिजन एचडीमै प्रसारण हुने रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को डिजिटल अडिसन खुल्ला भइसकेको छ भने चर्चित कलाकार शिवशंकर रिजालले ‘जोगिन्दरको पानको दुकान’ नामक कार्यक्रम चलाइरहेका छन् । अन्य नयाँ–नयाँ कार्यक्रमको तयारीमासमेत बागमती टेलिभिजन एचडी रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE