डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।
आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् । उनले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् । किन राजीनामा दिएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाइन् ।
मन्त्री भट्टराईले भनिन्, ‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरुले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि श्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला । मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर मैले विश्वविद्यालयमै जानकारी लिनेकुरा रहन्छ । सहकुलपतिले निर्देशन दिनसक्ने भन्ने मात्रै हो । अरु कुराको सबै जानकारी लिने मात्रै हो । जानकारी अनौपचारिक हिसवाले लिन पाइयो । तर औपचारिक हिसावले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि यहाँहरुलाई पुनः जानकारी गरोन प्रतिवद्धता जनाउँछु ।’
उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE