आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ । शनिवार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् ।
सहमतिसँगै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरुका मागहरु पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए । सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिन चिकित्सकहरु तयार रहेको बताए । आवासीय चिकित्सकहरुलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गरे । चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी मन्त्रालयले वातावरण बनाउने प्रतिवद्धता जनाए ।
उनले भने, ‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरुको आन्दोलन भएको थियो । त्यो बारेमा हामीले पटक पटक छलफल ग¥यौँ । र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरु थिए । त्यसको बारेमा हामीले दुई पक्षिय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । त्यो प्रतिवद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ यो आन्दोलन उहाँहरुको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरु फिर्ता लिन तयार हुनुभएको छ । उहाँहरुसँग भएको सम्झौतालाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्नेछौँ । केही विषयहरु जुन चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो, त्यसलाई कार्यान्वयन छिटो नभएको, सहज ढंगबाट नभएको विषय उहाँहरुको पछिल्लो विषय थियो । त्यसलाई छिटो कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिष्ठानअन्तर्गतका कलेजहरु पनि क्रमशः कार्यान्वयन गर्न तयार भएको स्थिति छ । कतिपय कलेजमा फर्किएर काम शुरु भइसकेको छ । जहाँ आवासीय चिकित्सकहरु फर्किने स्थिति बनेको छैन, त्यहाँ त्यो वातावरण बनाइदिन सबै कलेजलाई अनुरोध गर्न चाहन्छौँ । आपसी समझदारीमा टुंगिने स्थिति बनेको छ । चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी स्वास्थ्य मन्त्रालयले वातावरण बनाउनेछ ।’
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको बताए । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरु काम गर्न फर्किसकेको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको बताए ।
प्रतिवद्धता पूरा नभए आन्दोलनमा पुनः आउन बाध्य हुने चेतावनी दिए । उनले सरकारको तदारुकता र निजी मेडिकल कलेजको प्रतिवद्धताअनुसार फेरि आन्दोलनमा आउनु नपर्ने विश्वास व्यक्त गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE