आज कैलाली र कञ्चनपुरमा भारी वर्षा, चार प्रदेशमा पनि सर्तकता अपनाउन आग्रह
काठमाडौं । आज कैलाली र कञ्चनपुरमा भारी वर्षा मापन भएको छ ।
पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ ।
ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
यस्तै अहिले कर्णाली कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE