सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।
सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुराकानी गर्दै महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भएपनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे ।
उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने वद्नियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ ।
नेपालमा कानूनको दुरुपयोग, अपव्याख्या धेरै हुने हुँदा यस्ता कानूनहरु सत्ता र शक्तिमा बस्नेहरुले आफूअनुकुल प्रयोग गर्ने जोखिम रहेको उनले बताए ।
उनले भने, ‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषयमा दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डको कुराकानीसम्म पनि सरकारले पहुँच देखियो । नेपालको संविधानले दिएको गोपनीयताको हक बमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो नि । यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ । विधेयकका दफा र उपदफामा आएका कुराहरुमा सरकारको अभीष्ट के हो ? क्लियर गर्नुपर्छ । अहिले बच्चाको सम्बन्धमा कानून बनाउँदा बहुपविवाहसँग सम्बन्धीत कानून भेर अनर्थ गयो नि त । अब यसले थप जाने हो । त्यसैले यस विधेयकका सम्बन्धमा पार्टीको धारण के हो भने २०७६ सालमा यस्तै कानून प्रश्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ । अहिले फेरी त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रश्तावित गरेको छ । यसमा गम्भीर पुर्नविचार गर्नुपर्छ ।’
उनले थपे, ‘संविधान प्रतिकुल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्नेगरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य हुदैन । व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो व्यक्तिको बेडरुमसम्म होइन ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE