चर्चामा थानेश्वर गौतमको ‘बटौलीको टिकी’

काठमाडौं । चर्चित गायक तथा सङ्गीतकार थानेश्वर गौतमको नयाँ गीत बटौलीको टिकी सार्वजनिक भएको छ । चर्चित गायक गौतम र चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत बटौलीको टिकी सार्वजनिक गरिएको हो ।
केशवराज भट्टको निर्देशन, प्रभा बर्तौलाको शब्द रहेको उक्त गीतमा सङ्गीत पनि गौतम नै भरेका छन् । नरेन्द्र वियोगी एरेन्ज रहेको गीतमा मुख्य कलाकारको रूपमा सुरेश कोहली र मुदिता घिमिरे छन् । उक्त गीतलाई थानेश्वर गौतम अफिसियल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाली सङ्गीत क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भएका गायक तथा सङ्गीतकार गौतमका अधिकांश गीतहरू चर्चामा आउने गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट शास्त्रीय सङ्गीत विषयमा स्नातकोत्तर गरी पिएचडीको यात्रामा लागेका गौतममा शास्त्रीय, गजलदेखि लोकसंगीतका विद्याहरूलाई न्याय दिएर गाउन सक्ने अनौठो खुबी छ ।
‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘गाजल लगाइनछेउ’, ‘छुट्नलाई पो रहेछ क्यारे’, ‘एउटा कथा’, ‘तिम्रा यादहरू मलाई भेटेर जान्छन्’, ‘बेचेरै सपना मैले रात किनेको छु’ लगायतका गीतहरूले अत्यधिक चर्चा कमाउन सफल भए । यस्तै, गौतमका ‘स्याङ्जा गए पाल्पा गए बटौलीमा गइन्’, ‘खतरा धेरै भो’, ‘नाकमा फुली सालै जो’, ‘फुर्के धागो लगाएर कपाल बाटौली’, ‘छम छमती पाउजुहरू बजाएर नाच’ लगायतका थुप्रै गीतहरू पनि दर्शक/श्रोतामाझ धेरै रुचाइएका गीतहरू हुन् ।
गौतमको हालै सार्वजनिक भएको ‘सपना हो कि बिपना हो’ भन्ने गीतले पनि चर्चा पाइरहेको छ । चर्चित नायक पल शाह र नायिका नीति शाह अभिनीत चलचित्र ‘मोहर’मा समावेश भएको ‘सपना हो कि बिपना हो’ भन्ने गीतले दर्शकको मन जितिरहेको हो ।
४५ बढी देशहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका गौतम स्टेजमा समेत रचाइएको गायक तथा सङ्गीतकार हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE