निर्वाचन आयोगद्वारा संवैधानिक आयोगहरुसँग छलफल
काठमाण्डौं। निर्वाचन आयोगले संवैधानिक आयोगका प्रमुखहरुसँग छलफल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन आयोगले आईतवार संवैधानिक आयोगहरुसँग छलफल गरेको हो ।
निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन संवैधानिक आयोगहरूको सक्रिय सहयोगको आवश्यकता महशुस गरेर छलफलमा बोलाएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जानकारी दिए । समानुपातिक समावेशीताको सन्दर्भमा आदिवासी जनजाति, दलित लगायतका समुदाय पहिचान गर्न आयोगलाई अन्योल हुने गरेकोले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको उनले बताए । समानुपातिक समावेशीता लागू गर्दा वैवाहिक आधार वा जन्मसिद्ध आधार कुनलाई मान्यता दिने भन्ने विषयमा छलफल भएको पनि उनले जानकारी दिए । छलफलका क्रममा सबैको निष्कर्ष जन्मसिद्ध अधिकारलाई नै मान्यता दिनुपर्छ भन्ने रहेको उनले बताए । वैवाहिक आधार परिवर्तनशील हुने भएकाले त्यसलाई आधार बनाउनु उपयुक्त नहुने सुझाव आफूहरुले दिएको उनको भनाई छ । उनले आदिवासी जनजाति समुदायका धेरै नागरिकले खस नेपाली भाषा नबुझ्ने भएकाले निर्वाचन प्रचारप्रसार मातृभाषामै गर्नुपर्ने सुझाव पनि दिएको बताए । उनले निर्वाचनलाई कम खर्चिलो बनाउन पनि आयोगलाई सुझाव दिएको जानकारी दिए । आयोगले सबै राजनितिक दलका उम्मेद्वारहरुलाई बोलाएर उनीहरुको घोषणापत्रको बारेमा बहस गराई जनतामाझ लैजाने व्यवस्था गर्न सुझाव दिएको बताए ।
उनले भने, ‘निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउने र निर्वाचन सफल पार्नको लागि सबै संवैधानिक आयोगहरुले पनि सहयोग गर्नुप¥यो भन्ने विषय रहेछ, एउटा । दोस्रो चाहीँ कतिपयमा समानुपातिक समावेशीताको सन्दर्भमा विभिन्न आदीवासी जनजाती, दलित हो की होइन भन्ने पनि हामीलाई चाहीँ कहिलेकाँही अफ्ठ्यारो पर्छ, त्यसको लागि चाहीँ आयोगले सहयोग गरिदिनुपर्योभन्नेछ । यही सन्दर्भमा उनहरुले अर्को कुरा पनि राखेका छन्, समानुपातिक, समावेशीता गर्दाखेरि वैवाहिक आधारलाई गर्ने कि जन्मसिद्ध आधारलाई गर्ने भन्ने विषय थियो । हामी सबैले चाहीँ जन्मसिद्ध अधिकारलाई गर्नुपर्छ भन्ने भयो । कारण के हो भने वैवाहिक आधारहरु भनेको पछाडी परिवर्तन हुँदै जाने हो । त्यसलाई मान्न हुँदैन, जन्मसिद्ध आधारलाई मान्यता दिनुपर्छ भन्ने कुरा भयो । अरु चाँही निर्वाचन प्रचारप्रसारको क्रममा के गनुर्पर्छ भन्नेकुरा भयो । आदीवासी जनजाती आयोगको तर्फबाट सबै आदीवासी जनजातीले खस नेपाली भाषा बुझ्न नसक्ने भएको हुनाले मातृभाषामा प्रचारप्रसार गर्नुपर्छ भन्नेकुरा भयो ।’
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सक्रिय सहभागिता गराउन मुस्लिम आयोगले महत्वपूर्ण भुमिका खेल्ने बताए । मुस्लिम समुदायलाई निर्वाचनबारे सचेत गराउन मस्जिद र जुमाको नमाजलाई माध्यम बनाइने उनको भनाई छ । हरेक शुक्रवार जुमाको नमाजमा सहभागी मुस्लिम समुदायलाई इमाममार्फत निर्वाचनको आवश्यकता, महत्व र सहभागिताबारे सचेत गराइने उनले जानकारी दिए । मुस्लिम आयोगले आफ्नै किसिमको तयारी गरेर निर्वाचनलाई सहज, सरल र सफल बनाउन निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि उनले बताए ।
उनले भने, ‘मुस्लिम समुदायलाई मुस्लिम आयोगले पनि निर्वाचनलाई सहन, सरल र सजिलो किसिमले सञ्चालन गर्नको लागी मुस्लिम आयोगले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्नेछ । मुस्लिम समुदायले मुस्लिम समुदायको प्रत्येक शुक्रवार जुमाको नमाजमा सहभागी हुनेहरुलाई पनि नमाजमा मस्जिदमा भाषण दिने हाम्रा ईमामहरुलाई पनि आसन्न निर्वाचनको आवश्यकता र यसको महत्वको बारेमा र यो निर्वाचनमा सबै मुस्लिम सुमदाय पनि कसरी सक्रिय सहभागी हुने भन्ने बारेमा सचेतना जगाउने, जागरुक बनाउनेतिर पनि हामी लाग्नेछोँ । हामी हाम्रो आयोग पनि आफ्नै किसिमको तयारी गरेर यो आसन्न निर्वाचनलाई पूर्ण रुपमा सफल बनाउन आयोग लागीपर्नेछ भन्ने कुरा आयोगले निर्वाचन आयोगलाई जानकारी गराएको छ ।’
आयोगसँगको छलफलका क्रममा संवैधानिक आयोगहरूले आ–आफ्नो क्षेत्रबाट निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको ललागी सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । आयोगहरुले निर्वाचनको आयोगसँग समन्वय गरेर निर्वाचनको अनुगमन गर्ने विषयमा समेत छलफल भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE