सानेपामा काँग्रेस कार्यसम्पादन समिति बैठक जारी, यि हुन् बैठकका एजेण्डा
काठमाडौं । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठकमा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको छ ।
पार्टी सभापति गगन थापाको अध्यक्षतामा बुधवार बसेको बैठकमा समसामयिक राजनीतिक मुद्दादेखि संगठनात्मक पुनर्संरचनासम्मका विषयमा छलफल भइरहेको छ । बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन पेश गरेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। काँग्रेसले खनालको संयोकत्वमा चैत १९ गते कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन अध्ययन समिति गठन गरेको थियो । जेन–जी आन्दोलनका घटनाका जाँचबुझ गर्न तत्कालिन सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले तयार पारेको प्रतिवेदन अपुरो र एकतर्फी रहेको भन्दै आलोचना भइरहेको छ । कार्की आयोगको प्रतिवेदन अपुरो र एकपक्षीय रहेको भन्दै व्यापक आलोचना भइरहेका बेला काँग्रेसले आन्तरिक रूपमा थप अध्ययन गरी आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । बैठकमा सामाजिक सञ्जालमा बढ्दो विकृति तथा साइबर बुलिङप्रति पनि छलफल हुने प्रवक्ता चालिसेले जानकारी दिए । उनकाअनुसार बैठकमा २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने प्रश्तावका सम्बन्धमा समेत छलफल हुनेछ । साथै, पार्टीभित्र मर्यादाक्रम व्यवस्थापन, सदस्यता प्रणालीको डिजिटाइजेशन, निर्वाचन ब्युरो गठन तथा प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका एजेन्डा पनि छलफल हुने उनले जानकारी दिए । अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यका लागि न्यूनतम साझा एजेन्डा तय गर्ने तथा त्यसका लागि छुट्टै समिति गठन गर्ने तयारी पनि काँग्रेसले अघि बढाएको छ । पार्टीका सार्वजनिक कार्यक्रमहरू प्रभावकारी, व्यवस्थित र आकर्षक बनाउने विषयसमेत बैठकको कार्यसूचीमा समेटिएको उनले जानकारी दिए ।
पार्टी सदस्यतालाई व्यवस्थित गर्न केन्द्रिय सदस्यहरुको सहभागितामा समिति गठन गर्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE