विश्व प्रेस स्वतन्त्रता दिवस : प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आईतवार काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता ¥याली तथा विरोध प्रदर्शन गरेको छ ।सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूपअनुसार उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य वृद्धि भएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् । महासंघको अनुगमन प्रतिवेदनअनुसार गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यस वर्ष त्यो संख्या बढेर १ सय ३१ पुगेको उहाँले जानकारी दिइन् ।
वर्तमान सरकारको १०० दिन पूरा भइसक्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण नबनेको र बरु राज्यका पछिल्ला गतिविधिले महासंघ सशंकित भएको उनको भनाइ छ । विशेष गरी सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको महासंघको ठहर छ । यस कदमले लोकतन्त्रको आधारस्तम्भ मानिने मिडियाको मुख थुन्ने प्रयास गरेको र धेरै श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिएको अध्यक्ष शर्माको जिकिर छ ।
त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकारहरूलाई विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासंघले आपत्ति जनाएको छ । यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र लोकतन्त्रका लागि ‘खतराको घण्टी’ भएको उनको भनाइ छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE