शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् ।
६८ औं संसद दिवसको अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्न नहुनेमा जोड दिएका हुन्। नेता आङदेम्बेले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालिएको टिप्पणी गरे। सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसलाई कुनैपनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताए। ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु गलत भएको उनको तर्क छ ।
उनले भने, ‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति गरिरहेका छौँ । त्यो राम्रो कुरा होइन । शासकीय स्वरूपलाई हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता र हाम्रो कमजोरीको दोष थोपर्न थाल्यौँ । त्यसलाई नबुझीकन, अभ्यास नै नगरिकन त्यसप्रति प्रश्न उठाउन थाल्यौँ। त्यो राम्रो कुरा हुँदैन । त्यसैले आज हामीहरूले जनतालाई यसको वास्तविक अनुभूति गराउने ठाउँमा पु¥याउनका निम्ति, जसरी शासकीय स्वरूपअन्तर्गत सातवटा प्रदेशको परिकल्पना गरेका छौँ र तीन तहको सरकारको संरचना परिकल्पना गरेका छौँ, त्यसमा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नु हुँदैन। जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक निष्कर्षलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । यसप्रति कुनै प्रश्नचिह्न उठाउनु हुँदैन ।’
नेता आङदेम्बेले संसद दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नमनाई यसलाई देश र जनताप्रतिको दृढ प्रतिवद्धतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । उक्त प्रतिवद्धतालाई ठोस अठोट र सङ्कल्पमा बदल्नुपर्ने भन्दै उनले सोहीअनुसार अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE