आजबाट तिहार सुरु, कागतिहार भने भोली
काठमाडौं । नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिनको रुपमा बुधबार काग तिहार मनाईंने भए पनि आज बिहान ११ बजेर १ मिनेटपछि तिहार सुरु हुन नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी रहेको छ भने त्यसपछि त्रयोदशी सुरु हुने भएसँगै यमपञ्चक सुरु हुनेछ ।
आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने समितिको भनाइ रहेको छ । यसवर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिले जनाएको छ । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिको भनाइ हो । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE