आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहने

काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।
स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE