दक्षिण गाजामा इजरायली आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु
काठमाण्डौं। आईतवार दक्षिणी गाजामा इजरायली सेनाको गोलीबारीमा परी १५ वर्षीय किशोरसहित तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । खान युनिसको दक्षिणमा पर्ने जोरात अल–लुत क्षेत्रमा इजरायली आक्रमणबाट १५ वर्षीय अला अल–दिन असराफको ज्यान गएको हो ।
त्यसैगरी रफाहको उत्तर–पश्चिम क्षेत्रमा इजरायली सेनाको गोलीबारीमा फादी सलाहको मृत्यु भएको छ भने उनको शवलाई खान युनिसको नासेर अस्पतालमा लगिएको छ । स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेना फिर्ता भएको क्षेत्रमा इजरायली ड्रोनले प्रहार गर्दा सलाहको मृत्यु भएको हो । यसअघि रफाहको तटमा माछा मारिरहेका ३२ वर्षीय मछुवारा अब्दुल रहमान अल–कानको इजरायली नौसेनाले चलाएको गोली टाउकोमा लाग्दा मृत्यु भएको थियो । यसैबीच इजरायलले उत्तरी र पश्चिमी रफाहमा हवाई आक्रमण गर्नुका साथै पूर्वी खान युनिसमा आवासीय भवनहरू ध्वस्त पारेको छ । इजरायल रक्षा बल आईडीएफले आफ्ना सैनिकहरू युद्धविराम सम्झौता अनुसारै तैनाथ रहेको र खतरा हटाउन सञ्चालन जारी राख्ने बताएको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर १०, २०२५ मा युद्धविराम लागू भएयता ४२० जनाको मृत्यु भइसकेको छ भने अक्टोबर ७, २०२३ देखि शुरु भएको यस युद्धमा कुल ७१ हजार ३ सय ८६ प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE