गगन–विश्वका गतिविधि नेविसंघको झगडाजस्तै भए, विशेष महाधिवेशन आवश्यक छैनः सहमहामन्त्री राठौर
काठमाण्डौं। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडाजस्तै भएको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले काँग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै काँग्रेसजस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताए । उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी समेत गरे । सहमहामन्त्री राठौरले गिरिजाप्रसाद कोईरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण समेत गराए । उनले विशेष महाधिवेशन केन्द्रिय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको समेत जानकारी दिए ।
उनले भने, ‘महामन्त्रीहरुले गरेको गतिविधि नेविसंघका महामन्त्रीहरुले गरेको जस्तो गतिविधि भयो के । नेपाली काँग्रेस यति लामो इतिहास भएको पार्टी, देश र जनताप्रति जिम्मेवार र उत्तरदायी पार्टीको गरिमा बचाउने जिम्मेवारी उहाँहरुको हो । नेविसंघको अध्यक्ष र महामन्त्रीको झगडाजस्तो भयो । पार्टी महामन्त्री भनेको धेरै ठूलो कुरा हो । त्यसको गरिमा उहाँहरुले बचाएर जानुपर्छ । पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन । पार्टी फुटाएर कसैलाई फाइदा पनि हँुदैन बरु बाहिरी शक्ति र अन्य दलहरुलाई फाइदा हुन्छ । अहिले यो विषेश महाधिवेशनको फण्डा ल्याउनुपर्ने जरुरी नै छैन । पार्टीभित्र त्यो परिस्थिति होइन । हाम्रो कार्यकाल चार वर्षको हो । गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्म कहिले एक वर्ष त कहिले डेढ वर्ष थप नै गरेको हो । सभापतिले त मंसिरमै महाधिवेशन गर्नु भनेर कार्यवाहक सभापति र महामन्त्रीहरुलाई भन्नुभएको रहेछ । हामीलाई उहाँहरुले त्यही भन्या हो । त्यसकारण अहिले पार्टीभित्र विषेश महाधिवेशन गर्नुपर्ने आवश्यकता पनि छैन । यो अवस्था पनि होइन । यो विषेश महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन महामन्त्रीहरुले बोलाएको होला नआउनुहोला भनेर महाधिवेशन प्रतिनिधि साथिहरुलाई भनेका छौँ ।’
उनले सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न भनेको भएपनि कार्यवाहक सभापति र महामन्त्रीकै कमजोरीका कारण हुन नसकेको जिकिर गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE