पर्वतारोहण पर्यटनः नेपाल क्यानाडा सम्बन्ध विस्तारमा महत्वपुर्ण बन्ने
काठमाडौं । नेपाल र क्यानाडाबिचका विविध आयामहरुको बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६१औं वर्षको स्मरण गर्दै नेपाल र क्यानडाबीचको सम्बन्धलाई अझ प्रगाढ बढाउन सरकारी र निजी स्तरमा गरिनुपर्ने प्रयासहरुका बारेमा सहभागी वक्ताहरुले चर्चा गरेका थिए।
नेपाल र क्यानडाबीच सन् १९६५ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघको आयोजनामा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरिएको थियो ।
लाक्पा दोर्जी शेर्पालाई कार्यक्रममा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका अध्यक्ष निरोज मास्के, प्रमुख अतिथी नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति गंगाप्रसाद उप्रेती, नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका संरक्षक, परराष्ट्रविद एवम् क्यानाडाका लागि नेपालका पुर्व राजदुत हिरण्यलाल श्रेष्ठ, पुर्व राजदुत कालीप्रसाद पोखरेललगायतले सम्मान गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल–क्यानाडाबिचको सम्बन्धका बारेमा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका सल्लाहाकार आङछिरिङ शेर्पाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
शेर्पाले दुई देशबिचको सम्बन्ध, पर्यटन पर्वतारोहण सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको विषयवस्तुको बारेमा नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका उपाध्यक्ष प्रा.डा. गोपाल पोख्ररेलले बताएका थिए भने नेपाल–क्यानाडा मैत्री सांस्कृतिक समाजका सदस्य देवेश ढुंगानाले दुई देशबिचका आर्थिक, सांस्कृति, पर्यटनका बारेमा चर्चा गरेका थिए ।
नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका पुर्व अध्यक्ष इन्जिनियर केशव कुँवरले निरोज मास्के नेतृत्वको नयाँ टिमले सक्रिय भएर काम गरिरहेको बताउँदै धन्यवाद दिए ।
नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघ अध्यक्ष मास्केले दुई देशको सम्बन्धलाई अझ बलियो बताउनको लागि संघले स्थापनाकालदेखि सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद जस्ता विविध क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताइन्।
उनले भनिन्,‘हाम्रो र क्यानाडाबिच सांस्कृतिक रुपमा केहि समानता छ । हामी पनि हिमाली संस्कृतिमा धनी छौं, क्यानाडा पनि हिमाली संस्कृति र सभ्यता भएको देश हो। आगामी दिनमा हामी दुबै देशको जनताबिच आपसी सम्बन्धलाई विस्तार गर्ने योजना बनाएर काम गर्नेछौं ।’
कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति गंगाप्रसाद उप्रेतीले क्यानाडा र नेपालले विश्वस्तरका सामाजिक मुद्दामा एक भएर काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा सम्मानित भएका लाक्पा दोर्जी शेर्पाले मैत्री संघलाई धन्यवाद दिदैं आफुले क्यानेडियन नागरिकसँगै सगरमाथाको आरोहण गर्न पाउँदाको क्षण गर्व गर्न लायक रहेको बताए। शेर्पाले क्यानेडियन नागरिक लाउरी स्क्रेसलेटसँगै सगरमाथा आरोहण गरेका थिए।
लाउरी स्क्रेसलेट सगरमाथा आरोहण गर्ने पहिलो क्यानेडियन नागरिक हुन्। संघले यसअघि नेपालको कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई पनि सम्मान गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE