भारतमा भएको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको ज्यान गयो
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको ज्यान गएको छ ।
विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ सालघारी भञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै ज्यान गएको बराहपोखरी गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिए ।
घटनामा बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर, लितबहादुर मगर र अर्का एक जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका ज्यान गुमाउने तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ मा मेघालय गएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई दुई लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँका दरले उपचार खर्च दिने भारत सरकारले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE