बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

राष्ट्रिय आर्थिक गणना शुरुः ७७ जिल्लामा ८४ कार्यालय स्थापना

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले वैशाख २ गते अर्थात आज देखि देशभर ‘राष्ट्रिय आर्थिक गणना’ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ ।

आर्थिक क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन र रोजगारी विश्लेषणका लागि महत्वपूर्ण आधार र तथ्याङ्क प्रदान गर्ने उद्देश्यले यो अभियान शुरु गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आज एक कार्यक्रमका बीच गणनाको शुभारम्भ गर्दै यसले मुलुकको समग्र आर्थिक निर्णयका लागि ‘मेरुदण्ड’ को रूपमा काम गर्ने विश्वास व्यक्त गरे । डा. पोख्रेलकाअनुसार चैत १ गतेदेखि नै ७७ वटै जिल्लामा आर्थिक गणना कार्यालयहरू स्थापना भइसकेका छन् । काठमाडौँ, मोरङ र रूपन्देही (भैरहवा) जस्ता ठूला जिल्लाहरूमा एकभन्दा बढी कार्यालय गरी देशभर जम्मा ८४ वटा जिल्ला स्तरका गणना कार्यालयहरू सञ्चालनमा छन् । यस गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, सार्वजनिक तथा निजी सबै प्रकारका आर्थिक एकाइहरूलाई समेट्नेछ । विशेष गरी संस्थाहरूको सङ्ख्या, भौगोलिक वितरण, रोजगारीको अवस्था, उत्पादन र सेवा प्रवाह जस्ता विषयहरूमा विस्तृत विवरण सङ्कलन गरिनेछ । तर, अन्तर्राष्ट्रिय अभ्यास अनुसार केही क्षेत्रहरूलाई भने गणनामा समावेश गरिएको छैन । कुटनीतिक निकायहरू, शुद्ध प्रशासनिक सरकारी कार्यालयहरू, सुरक्षा निकायहरू र घरायसी प्रयोजनका लागि मात्र गरिने क्रियाकलापहरूलाई यसमा समेटिएको छैन । यसअघि २०७५ सालमा भएको आर्थिक गणनामा करिव ९ लाख २३ हजार उद्योग प्रतिष्ठानहरू समेटिएका थिए । जसमा ३२ लाखको हाराहारीमा रोजगारीको अवस्था देखिएको थियो ।

तथ्याङ्कको गुणस्तरप्रति कार्यालय अत्यन्त संवेदनशील रहेको बताउँदै डा.पोख्रेलले यस पटक इच्छुक उद्योगी व्यवसायीहरूका लागि ‘ई–सेन्सस’ को प्रावधान पनि राखिएको जानकारी दिए । यस अन्तर्गत व्यवसायीहरूले विद्युतीय माध्यमबाटै आफ्नो विवरण बुझाउन सक्नेछन् । यस गणनाका लागि आवश्यक गणक र सुपरभाइजरहरूको नियुक्ति तथा तालिम सम्पन्न भई उनीहरू आजैदेखि कार्यक्षेत्रमा खटिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x