काठमाडौं । हाल काठमाडौं उपत्यका सहित देशका अधिकांस ठाउँमा झरी परेको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांस ठाउमा पानी परेको हो । शुक्रबार देखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा बुधबार बेलुका देखी नै मुसलधारे पानी पर्न थालेको छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबारदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ । मौसम एकछिन खुलेजस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
