बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विद्यालाई ओलीले भनेः कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् ।

उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले सदस्यता त्याग गरेर जानुभएको र त्याग गर्नैपर्ने अवस्था रहेको पनि बताए । राष्ट्रपतिबाट फर्किएपछि पुनः नविकरणका लागि पार्टीमा निवेदन दिनुपर्नेमा अहिलेसम्म नदिनुभएको र पार्टीसँग कुरा नगरेको पनि स्पष्ट पारे । सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर पार्टीको सदस्य नभइने ओलीको भनाइ छ । सदस्यता नै नभएको व्यक्तिको सदस्यता नविकरण नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘पूर्वराष्ट्रपतिजीको सम्बन्धमा तपाईंहरुलाई पनि भ्रम नपरोस्, उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुने बेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँले सदस्यता छोडेर राष्ट्रपति बन्न जानुभएको हो ।

फर्किएर आएपछि त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे होला, कर्मचारीले त रसिद काटिदिन्छ । त्यसरी लिने होइन । राष्ट्रपतिले छोडेको सदस्यता हो । छोडेको सदस्यता नविकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नविकरण हुन्छ ।

तपाईंसँग सदस्यता नै छैन भने नविकरण कसरी गर्नुहुन्छ । सदस्यता चाहिनका लागि राष्ट्रपति हुन नजानु पर्दथ्यो नि त । म त्यसैमा बस्छु, म जान्न राष्ट्रपति बन्न भन्नुपर्दथ्यो । आएपछि सदस्यता छैन । पार्टी सदस्यतालाई निरन्तरता गर्ने हो भने उहाँले पार्टीमा कुरा गर्नुपर्दथ्यो, निवेदन गर्नुपर्दथ्यो ।

पार्टीमा उहाँले कुरा गर्नुभएको छैन, पार्टीले निर्णय गरेको छैन । दस्तुर तिर्दैमा नविकरण हुन्छ । उहाँले सदस्यताका लागि आवेदन दिनुभएको छैन । हामीसँग पनि नविकरण गर्नुप¥यो भन्नुभएको छैन । बाहिर बाहिर बजारमा टेलिभिजनले दिने त होइन होला । ’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x