ओलीलाई माधव नेपालले भनेः कतिपयको होस हवास उडेको छ, गाली गर्न पर्दैन, हामीलाई धन्यवाद दिनुस्
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन् । बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।
उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे ।
आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरुलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।
उनले भने, ‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ ।
होस हवास गुमेको हुनुपर्छ । होस गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रश्ताव पास गर्नुस् । धन्यवाद प्रश्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE