मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा धमाधम मञ्च निर्माण, तयारी तीव्र

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेदेखि सुरु हुने भएपछि राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू धमाधम अघि बढाइएको आयोजकले जनाएको छ।आयोजकका अनुसार सकेसम्म आजै, नभए भोलि बिहानसम्म सम्पूर्ण भौतिक तयारी सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विशेष महाधिवेशनलाई व्यवस्थित, अनुशासित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको हो।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको प्रत्यक्ष समन्वयमा सम्पूर्ण तयारी अघि बढाइएको छ। सचिवालयमार्फत विभिन्न उपसमितिहरू सक्रिय बनाइएका छन्, जसअन्तर्गत स्वयंसेवक व्यवस्थापन, सुरक्षा समन्वय, अतिथि व्यवस्थापन, प्रचार–प्रसार, मञ्च तथा प्राविधिक व्यवस्थापनजस्ता जिम्मेवारी तोकिएको छ।महाधिवेशन व्यवस्थापन समितिका अनुसार तयारी कार्य चरणबद्ध रूपमा अघि बढाइँदै छ भने प्रत्येक उपसमितिलाई समयसीमा तोकिएर काम गर्न निर्देशन दिइएको छ।स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन, प्रतिनिधि सहजीकरण, हल व्यवस्थापन, सूचना आदान–प्रदान तथा आकस्मिक सहयोगका क्षेत्रमा खटाइने योजना रहेको उनले बताए।

“भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माणको काम सुरु भइसकेको छ। हल सजावट, ब्यानर, झन्डा, साउण्ड सिस्टम र बत्ती जडानको काम पनि सँगसँगै अघि बढाइँदै छ,” कोइरालाले जानकारी दिए।

विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो। पार्टीभित्र विधान कार्यान्वयन, आन्तरिक लोकतन्त्र र नेतृत्वको भूमिकाबारे उठेका प्रश्नहरूको सन्दर्भमा यो विशेष महाधिवेशनलाई निर्णायक मानिएको छ।महाधिवेशन सफल पार्न महामन्त्रीद्वयले विभिन्न समिति र नेताहरूसँग निरन्तर समन्वय गरिरहेका छन्। आयोजक पक्षका अनुसार तयारी प्रक्रियामा उनीहरूको सक्रिय संलग्नता देखिएको छ।विशेष महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वागत गेट निर्माण, पार्टी झन्डा राख्ने तथा फ्लेक्स बोर्ड टाँस्ने काम पनि सुरु गरिएको छ। आयोजकका अनुसार दर्जनौँ स्थानमा फ्लेक्स राख्ने तयारी गरिएको छ, जसले महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आम नागरिकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।भृकुटीमण्डपमा पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ। महाधिवेशन दुई दिनसम्म चल्नेछ, जसअन्तर्गत उद्घाटन सत्र, बन्द सत्र तथा घोषणासभा आयोजना गरिनेछ।उद्घाटन सत्रमा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै पार्टीका शीर्ष नेताहरू, प्रभावशाली युवा नेताहरू तथा ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरूले पनि सम्बोधन गर्ने कार्यतालिका बनाइएको आयोजकले जनाएको छ।महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं आइरहेका छन्। जनपरिचालन समितिका संयोजक जगदीश नरसिंह केसीका अनुसार उद्घाटन सत्रमा मात्रै करिब ५० हजार कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता हुने अपेक्षा गरिएको छ।

“देशभरबाट कार्यकर्ता आउँदैछन्। यो महाधिवेशनले पार्टीभित्रको भावना, असन्तुष्टि र अपेक्षालाई अभिव्यक्त गर्ने मञ्चको भूमिका खेल्नेछ,” केसीले भने।

नेपाली कांग्रेसभित्र विकसित आन्तरिक राजनीतिक परिस्थितिका बीच आयोजना हुन लागेको यो विशेष महाधिवेशनले पार्टीको आगामी दिशा, नेतृत्वको भूमिकाबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x