`फागुन २१ कालागि मेरो २१ दिन´ सुरु गर्दै कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ कालागि मेरो २१ दिन´ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो।
त्यसका लागि कांग्रेसले `नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ।
`फागुन २१ कालागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदिय जिम्मेवारी जहाँ / उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ।
यसरी खटिंदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तततत स्थानमा कार्य सकेर पुन आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ। यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरु आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यसैगरी एउटा वडाको कृयाशिल सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौ´ उद्घोषसाथ आआफ्नै वडामा खट्न कांग्रेसले भनेको छ। कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरुलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE