मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

जापानमा सत्तारूढ गठबन्धनको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्री अनुतिनको पार्टीलाई स्पष्ट अग्रता

काठमाडौं । जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जीत निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये झन्डै ३ सय २८ सिटमा जीत हासिल गरेको छ । गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सँग मिलेर ताकाइचीले दुई–तिहाइ भन्दा बढी सिट सुरक्षित गरेको खबरमा उल्लेख छ ।

ठूलो बहुमतसँगै ताकाइचीलाई कर कटौती, आर्थिक सुधार र सुरक्षा नीतिमा महत्त्वपूर्ण निर्णय लिन सहज बनाउनेछ । यद्यपि कर कटौतीको योजनाले जापानी ऋण र येनमाथि दबाब बढाएको भन्दै वित्तीय बजारमा चिन्ता बढाएको छ । चुनावपछि प्रारम्भिक कारोबारमा जापानी येन अमेरिकी डलरको तुलनामा केही कमजोर बनको छ ।

यस्तै थाइल्याण्डमा प्रधानमन्त्री अनुतिन चार्नभिराकुलको भुमजैथाई पार्टीले स्पष्ट अग्रता बनाएको छ । थाइल्याण्डमा प्रारम्भिक मतगणनाअनुसार भुमजैथाई पार्टीले तल्लो सदनमा ५ सय मध्ये सबै भन्दा अगाडि एक सय ९४ सिट हात पारेको छ । प्रगतिशील पीपुल्स पार्टी दोस्रो र एक समयको शक्तिशाली फ्यु थाई पार्टी तेस्रो स्थानमा छन् ।

अनुतिनले कम्बोडियासँगको सीमा विवादपछि चर्किएको राष्ट्रवादी भावनालाई चुनावी रणनीतिमा रूपान्तरण गर्दै संसद विघटन गरेर आकस्मिक चुनाव घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार यही राष्ट्रवादी एजेण्डा उनको जितको मुख्य आधार बन्यो । यद्यपि भुमजैथाईले एक्लै बहुमत नपाउने सम्भावना रहे पनि स्थिर सरकार गठनको सम्भावना बलियो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थाइल्याण्डमा चुनावसँगै गरिएको जनमतसंग्रहमा सन् २०१७ को सैनिक समर्थित संविधानलाई प्रतिस्थापन गर्ने प्रस्तावलाई मतदाताले झन्डै दुई तिहाइ बहुमतले समर्थन गरेका छन् । यदि प्रक्रिया अघि बढेमा नयाँ संविधान आउन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।

जापानमा ताकाइचीको बलियो जनादेशले नीतिगत तीव्रता ल्याउने संकेत दिएको छ भने थाइल्याण्डमा अनुतिनको जितले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने आशा बढाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x