बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे

काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताएकी छिन् ।

बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याएकी हुन् । उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गरिन् । उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन् । उनले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरुलाई कमजोर ठान्ने सोच नै गलत भएको बताइन् । देशभरका मतदाताहरुले समानुपातिक सांसदहरुलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाई थियो।

उनले भनिन्,‘अहिलेकै निर्वाचनमा भन्ने हो भने पनि यहाँबाट राजीनामा दिएर तपाई चुनाव लडन जानुस् भन्नेकुरा पनि मलाई कतैबाट आएको थियो । तर म जान सकिन । त्यो भनेको महिला सहभागिता बढाउनका लागि गरिएको भन्ने मलाई लाग्छ के । अब एउटा तयारीको कुरा पनि हुन्छ । अर्को खर्चपर्चको कुरा छ । मलाई लाग्छ– निर्वाचन प्रणाली नबदलेसम्म महिला सहभागिता प्रत्यक्षतर्फ यस्तै हुन्छ । त्यही भएर समानुपातिक राखिएको हो । यसलाई पनि गलत अर्थमा बुझियो । मैले पूर्वराष्टपतिसँग पनि कुरा गरेँ । यो समानुपातिक भनेको देशभरका मान्छेले भोट दिएर आएको मान्छे सानो हुन्छ त्यसलाई किन दोस्रो दर्जाको रुपमा हेर्ने एउटा निर्वाचन क्षेत्रमा लडेर आउने मान्छे ठूलो हुने । देशभरका मान्छेहरुले मत दिएर आएको मान्छे सानो हुन्छ उसले त देशभरी हेर्नुपर्छ, ऊ ठूलो मान्छे हो । हामीले के लाई हेरियो भन्दा त्यहाँ गरिएको खर्चलाई मापन गरियो । यो गलत कुरा हो भनेर मैले पहिले पनि भनेको हो, अहिलेपनि भन्छु ।’

उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरुलाई फेरि सोहीतर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राखिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x